Tuesday, September 11, 2012

शरणार्थीका अधिकार सुरक्षित गरिने – प्रम भट्टराई

Like Us On Facebook Click Here
काठमाण्डौ ।
अमेरिकी दक्षिण तथा मध्य एसियाली मामिला सहायक मन्त्री रवर्ट ओ व्लेकले प्रधानमन्त्री डा. बावुराम भट्टराईसँग मंगलबार भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरवारमा भएको भेटमा प्रधानमन्त्री डा. भट्टराईले माओवादीलाई अमेरिकाले आतंककारी सूचीवाट हटाएकोमा धन्यवाद व्यक्त गर्दै यसले शान्ति र संविधान निर्माण प्रक्रियालाई सहयोग मिल्ने बताए ।
भेटका क्रममा प्रधानमन्त्रीले वर्तमान राजनीतिक निकासको बारेमा दुई विकल्प भएको बताए । पहिलो विकल्पको रुपमा राजनीतिक सहमतिको आधारमा संविधानसभाको निर्वाचनमा जाने र दोस्रो विकल्प संविधानको अन्तरवस्तुमा सहमति गरेर संविधानसभाको पुनःस्थापना गरेर जान सकिने भट्टराईको भनाए थियो । समस्या समाधानका लागि सरकार सहमति निकालेर अगाडि बढ्न चाहेको पनि उनले बताए । नेपाल र अमेरिकाबीच आर्थिक सम्बन्ध रहँदै आएको स्मरण गर्दै प्रधानमन्त्रीले यसलाई अझ मजवुत बनाउनु पर्नेमा जोड दिए । अमेरिकी लगानिकर्ताहरूलाई नेपालमा लगानीको लागि सरकारको सधै स्वागत रहेको प्रधानमन्त्रीले बताए ।
शान्ति प्रक्रियाको अभिन्न पाटोको रुपमा रहेका सेना समायोजन, सत्य निरुपण तथा मेलमिलाप आयोग, वेपत्तासम्बन्धी आयोगको गठन अन्तर्राष्ट्रिय मापदण्ड अनुसार हुने पनि प्रधानमन्त्रीले बताए ।
भेटका क्रममा शरणार्थी समस्याबारे पनि चर्चा भएको थियो । अमेरिकी सहायक विदेशमन्त्रीले तिव्वती शरणार्थीहरुबारे जिज्ञासा राखेका थिए भने प्रधानमन्त्रीले भुटानी शरणार्थीको बारेमा चासो राखेका थिए । उनले शरणार्थीका अधिकारहरू अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सुरक्षित गरिने पनि बताए ।
भेटमा अमेरिकी सहायक मन्त्री व्लेकले अमेरिकाले माओवादीलाई आतंककारी सूचिबाट हटाएको औपचारिक जानकारी गराएका थिए । उनले नेपालमा विकसित वर्तमान राजनीतिक अवस्थाको बारेमा पनि प्रधानमन्त्री समक्ष चासो व्यक्त गरेका थिए । अमेरिकाले नेपालमा शान्ति र संविधान निर्माण प्रक्रिया सम्पन्न भएको हेर्न चाहेको उनले बताए । उनले अमेरिका नेपालमा आर्थिक लगानी बढाउन इच्छुक रहेको बताए ।

Labels: